काठमाडौं ।
भारतकाे चेन्नाइमा हुन गइरहेकाे ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलिलाई मंगलबार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विदाई गरेका छन् । जुलाई २८ बाट अगस्ट ९ तारिखसम्म संचालन हुने प्रतियोगितामा नेपालको तर्फबाट पुरुष तथा महिला दुई टोलिको सहभागीता रहेकाे नेपाल बुद्धिचाल संघका सचिव उमेश केशीले जानकारी दिए ।
सिंहदरबारस्थित मन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित विदाई समारोहमा मन्त्री श्रेष्ठले नेपाली चेस टोलिलाई उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजय हासिल गर्न शुभकामना व्यक्त गरे । सन् २००४ मा स्पेनमा सम्पन्न ३६ औं चेस ओलम्पियाडबाट नेपालमा लगातार प्रतियोगितामा सहभागीता जनाएको छ।
चेन्नाइमा सहभागी हुने टाेलीमा नेपालको पुरुषतर्फबाट वर्तमान नेशनल च्याम्पियन पुरुषोतम चौंलागाईं, फिडे मास्टर द्धय रुपेश जयसवाल तथा क्षितीज भण्डारी एवं क्यान्डिडेट मास्टरद्धय विवेक थिङ तथा मिलन लामा रहेका छन् भने संघका उपाध्यक्ष एवं नेशनल ईन्स्ट्रक्टर धन बहादुर बोगटीले टिम क्याप्टेनको भुमिका निर्वाह गर्नेछन् । नेपाली महिला टोलीमा नेशनल च्याम्पियन वुमन फिडेमास्टर सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल रहेका छन् । महिला टिमको क्याप्टेनको जिम्मेवारी पूर्व नेशनल च्याम्पियन क्यान्डिडेट मास्टर भुपेन्द्र निरौलाले पाएका छन् । नेपाली टोलिको हेड अफ द डेलिगेट (टिम म्यानेजर) को रुपमा संघका महासचिव धरम बहादुर लामा सहभागी हुँदैछन । सन २०१४ मा नर्वेमा सम्पन्न ४१ औं चेस ओलम्पियाडबाट महिला टाेलीले प्रतियोगितामा सहभागी हुन शुरू गरेकाे थियाे ।
संघका सचिवद्धय अन्तरार्ष्ट्रिय आर्विटर उमेश केसी तथा फिडे आर्विटर मोनालिशा खम्बु ४४ औं चेस ओलम्पियाडमा आर्विटरको रुपमा सहभागी हुँदैछन् । केसी तथा खम्बु दुबैलाई फिडेको आर्विटर कमिशनले म्याच आर्विटर नियुक्त गरेको हो । त्यसैगरी जुलाई ३१ देखि अगस्ट ९ तारिखसम्म आयोजना हुने अन्तर्राष्टिय बुद्धिचाल महासंघ (फिडे) को ९३ औं फिडे कंग्रेसमा नेपालको तर्फबाट नेपाल बुद्धिचाल संघका अध्यक्ष बिदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कंग्रेसले फिडेको नयाँ कार्यसमिति समेत निर्वाचित गर्नेछ । कंग्रेस अन्तर्गत आयोजना हुने विभिन्न बैठकमा सहभागीताका लागि नेपाल बुद्धिचाल संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल तथा कोषाध्यक्ष ज्ञानेन्द्र महर्जन समेत गरी जम्मा १९ सदस्यीय टोली बुधबार दिउँसो चेन्नई प्रस्थान गर्नेछ ।