- कृष्णप्रसाद पोखरेल (इच्छाकामना ३ चुम्लिङटार चितवन)
जति पढ्यो उति पढुँ पढुँ जस्तो लाग्छ ।
छन्द लय भित्र बगुँ बगुँ जस्तो लाग्छ ।।
पढ्दा पढ्दै सुन्दा सुन्दै कलम् चल्न थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
असारमा पनि सार खोज्छ मेरो मन ।
साउनको भेल सँगै कुस्ति खेल्छ झन ।।
दु:ख सुख भोगाइमै जीवन् चल्न थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
शीत भए न्यानो सँग हातेमालो गर्दै ।
गर्मी आए चिसो चिसो हावा पानी छर्दै ।।
समयको माग सँगै भाव फुर्न थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
पालुवाले ढाकेको छ हरियाली वन ।
मन मुग्ध पारीदिन्छ बसन्तले झन ।।
कोकिलले यसै बेला गीत गाउन थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
प्रकृतिका रङ्ग भित्र डुब्न् मनलाग्छ ।
कल्पनामा जतासुकै पुग्न मनलाग्छ ।।
जे छोएनी सिर्जनाकै रुप लाग्न थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
कुलत् छुट्ला कविलत छुटाउनै गाह्रो ।
जता जाउँ बाटो खर्च जुटाउनै गाह्रो ।।
दु:ख भएपनि यस्मै आत्मा रम्न थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
हार्न सकिएन यो ज्यान् फार्न सकिएन ।
यता जाँदा उता पूर्ण पार्न सकिएन ।।
कता जाउँ जताततै निम्तो आउँन थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
जताततै फुल सँग काँडा छरपट्ट ।
सिर्जनामा प्रतिबिम्व देख्छु असरट्ट ।।
जता जाउँ उतै तिर सताउन थाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।
जहाँं जता गड्गडाए त्यही खुराक बन्छ ।
भोगाइ हो जिन्दगानी कविताले भन्छ ।।
कल्पनाको आँखा हुन्छ भन्नुहुन्थ्यो बाले ।
दिनु दु:ख दियो मलाई मेरै सिर्जनाले ।।